काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको आरोप लगाएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले युवाहरुले भ्रष्टाचार र कुशासन अन्त्यका लागि आन्दोलन सुरू गरे पनि त्यसलाई देशी–विदेशी शक्तिहरूको प्रभावमा मोडिएको दाबी गरेका हुन्।
उनले वर्तमान संविधान र व्यवस्थाले भ्रष्टाचार तथा कुशासन अन्त्य गर्न नसक्ने भन्दै यही संरचनामा निर्भर रहेर मुलुकलाई निकास खोज्नु निरर्थक हुने टिप्पणी गरे ।
थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सार्वजनिक रूपमा गरेको अभिव्यक्तिले पनि आन्दोलन हाइज्याक भएको पुष्टि गरेको दाबी गरे । उनले भने,“जेनजी युवाहरू यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरूको मूल उद्देश्य भ्रष्टाचार अन्त्य गर्ने थियो, तर संवैधानिक अंगलाई यथावत राखेर आन्दोलनलाई देशी–विदेशी शक्तिको सहयोगमा हाइज्याक गरिएको छ ।”
उनले संवैधानिक अंगमा भइरहेको राजनीतिक नियुक्तिलाई भ्रष्टाचारको मूल कारण बताउँदै यही व्यवस्थालाई कायम राखेर हुने आगामी निर्वाचन अर्थहीन हुने चेतावनी दिए। “यस्तो निर्वाचनबाट फेरि पुरानै पार्टी वा केही नयाँ पार्टी आउलान्, तर कसैले पनि स्थायी सरकार बनाउन सक्दैनन् । त्यसपछि पुनः अस्वाभाविक गठबन्धन र अराजकता मात्र बढ्छ,” उनले भने ।
थापाले मुलुकलाई निकास दिन सबै प्रजातन्त्रवादी र राजावादी शक्तिहरूलाई एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्