काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन् ।
बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो धारणा राखेका हुन् ।
उनले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तीमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए ।
“त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोवल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ,”उनले भने, “भ्रष्टाचार नियन्त्रण, शुसासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरुको चाहना निर्वाद पेशा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवद्र्धनको कारणले मात्र संभव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ । ”
अध्यक्ष ढकालले जेनजी आन्दोलन पछि क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत संकलनलाई आव्हान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम ल्याउन सकिने तर त्यसको लागि सिएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे ।
उनले भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली लागू हुनु सकारात्मक भएको र यसले मिय र कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए ।
उनले सरकारले निजी क्षेत्रको सुझाव अनुसार छोटो समयमा नै धेरै सकारात्मक काम सुरू गरेको र यसले विस्तारै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग गर्ने बताए । विराटनगर भन्सार कार्यालयमा पाइलट प्रोजेक्टका रूपमा लागू गरिएको अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणालीको बुधवार अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्