काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले हवाई तथा स्थल यातायातमा सिण्डिकेटिङ र कार्टेलिङ बढ्दै गएको भन्दै प्रधानमन्त्रीसमक्ष तत्काल नियन्त्रणको माग गरेको छ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जारी गरेको पत्रमा सरकारको गठन दुई हप्ता भइसक्दा पनि भ्रष्टाचारका घटनाहरू बढ्दै गएको र दशैंको समयमा उपभोक्ताहरू ठगिन लागेको उल्लेख गरिएको छ।
“माछा, मासु, अण्डा लगायतका खाद्य वस्तुका व्यापारीहरूले बहानाबाजी गरी मूल्य वृद्धि गरेका छन् भने बजार अनुगमनका क्रममा मिश्रणजन्य र सडेगलेका सामग्री बिक्री गर्ने गतिविधि समेत देखिएको छ। यसबारे सरकार गम्भीर रूपमा लाग्नुपर्ने र सिण्डिकेटिङ तथा कार्टेलिङ जस्ता गैरकानुनी अभ्यासलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्छ,”पत्रमा भनिएको छ ।
अध्यक्ष महर्जनले उत्पादन, आयात र आपूर्ति व्यवस्थालाई चुस्त-दुरुस्त बनाइ उपभोक्ताले सहज रूपमा सामग्री प्राप्त गर्न सकून् भन्ने उद्देश्य राखेर नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि जोड दिएका छन्।
पत्रमा देशमा कालोबजारी, तस्करी र बिचौलियाको गतिविधिले उत्पादनमा कमी आउँदा उपभोक्ता, उत्पादक, आयातकर्ता र सरकार सबैलाई समस्या भैरहेको उल्लेख गरिएको छ।
मञ्चले विशेष रूपमा नेपाली पर्व दशैं, तिहार तथा छठको अवसरमा उपभोक्ताको हकहित सुनिश्चित गर्न आवश्यक कदम यथाशीघ्र चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्