काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा हटाइएको छ र हाल सडक दुइतर्फी रूपमा सञ्चालनमा आएको छ।
असाेज ७ गते साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक डिभिजन भरतपुरको नेतृत्वमा ईन्जिनियरको निगरानीमा बाढी बत्तीको व्यवस्था गरी ६ वटा भारी उपकरण परिचालन गर्दै रातभर काम गरिएको थियो।
डिभिजनका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भई सडकको दुबै लेन खुला गरिएको छ। पर्खालमा टाँसिएर रहेका ढुंगा र माटो समेत सफा गरिसकिएको छ जसका कारण अहिले सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको छ।
सडक डिभजन भरतपुरले जोखिम न्यूनीकरणका उपायहरू अपनाउँदै आवश्यक सतर्कता अपनाउन सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्