५० प्रतिशतले घट्यो चिउराको माग


काठमाडाैँ । भक्तपुरका चिउरा व्यवसायीहरूले यस वर्ष मागमा उल्लेखनीय कमी आएको बताएका छन्।

व्यवसायी दिनेशप्रसाद काफ्लका अनुसार विगतको वर्षको तुलनामा करिव ५० प्रतिशतले चिउराको माग घटेको छ। उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले बजारमा यस प्रकारको असर पार्न सक्ने सम्भावना छ भने पैसा बजारमा नहुनुले पनि माग घट्नुको अर्को कारण हुन सक्ने अनुमान छ।

व्यवसायी काफ्ललेका अनुसार बजारमा माग घटेको भए पनि उत्पादन स्थल अर्थात् चिउरा मिलहरूमा विक्रीमा तुलनात्मक रूपमा वृद्धि भएको छ। स्थानीय उपभोक्ताहरू सिधै मिलमै पुगेर चिउरा किन्ने प्रवृत्ति बढेको उनले बताए। “मार्केटमा माग अलिकति घटेको छ। भदौमा भएको जेनजी आन्दोलनले पनि यसमा असर पुर्‍याएको हुनसक्छ। हामीले जुन मार्टमा चिउरा पठाउँथ्यौं, त्यहाँ करिव ५० प्रतिशतले माग घटेको छ। तर स्थानीयहरूले मिलको ताजा चिउरा मन पराउने भएकाले त्यहाँ व्यापार अलिक बढी छ,” उनले भने।

उपभोक्ता पनि मिलमा चिउरा किन्ने प्रवृत्तिमा बढ्दो रुचि देखाएका छन्। दसैँ लगायत चाडपर्वका लागि ताजा, गुणस्तरीय चिउरा लिन मिलमै आउने ग्राहक रामशरण ढकालले बताए। उनका अनुसार पसलमा पाइने चिउरा प्रायः धेरै दिनसम्म राखिएको, कहिलेकाहीँ नमीठो र फिक्का हुने गरेको हुँदा मिलमा बनेको ताजा चिउरा आफ्नो परिवारको रोजाइको पहिलो विकल्प हुन्छ।

त्यस्तै अर्का उपभोक्ता कमलप्रकाश वनले मिलको चिउरामा मिसावट नहुने भएकाले उनी पहिलेदेखि नै मिलमै चिउरा किन्ने गरेका छन्। मूल्यको हिसाबले पनि मिलको चिउरा बजारको तुलनामा सस्तो र गुणस्तरीय भएकाले उपभोक्तालाई आर्थिक दृष्टिले सहज हुने उनले बताए।

विशेषगरी शहरमा चिउराको खपत उच्च छ। पकाउन नपर्ने, सजिलै भण्डारण गर्न मिल्ने भएकाले दसैँ–तिहारजस्ता चाडपर्वमा मासु, तरकारी, दही, दुध वा केरा जस्ता परिकारसँग चिउरा खाने चलन परम्परागत रूपमा रहँदै आएको छ।

यसरी, गुणस्तरीय र ताजा चिउराको मागमा स्थानीय उपभोक्ताको आकर्षण बढिरहेको भए पनि बजारमा आर्थिक र सामाजिक परिस्थितिले केही कमी ल्याएको देखिन्छ।