बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरू हुने


काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता प्रक्रियालाई अझ प्रभावकारी र पारदर्शी बनाउन आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक डा.शेषनारायण पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो कि उक्त सफ्टवेयरमार्फत आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रिया थालनी गरिनेछ।

डा. पौडेलका अनुसार, प्राधिकरणले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन, सुपरीवेक्षण तथा प्रतिवेदन प्रणालीसम्बन्धी राष्ट्रिय मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने काम गर्दैछ।

यसैगरी यी सहकारी संस्थाहरूको सञ्चालनसम्बन्धी नियामकीय मापदण्ड जारी भइसकेको र हाल कार्यान्वयनको चरणमा रहेको जानकारी पनि उनले दिए।

उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी भइसकेको र साधारण सभा सञ्चालनसम्बन्धी निर्देशन पनि कार्यान्वयनको चरणमा रहेको बताए । यसैगरी प्राधिकरणले यी संस्थाहरूको सघन अनुगमन सुरू गरेको छ।

साथै सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयलाई सम्बोधन गर्न मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको छ भने प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको छ।

असोज महिनादेखि ऐनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी र संघ संस्थाहरूले अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण गर्न सक्नेछन्। डा.पौडेलका अनुसार प्राधिकरणले दर्ताका लागि आह्वान गरेपछि सहकारीहरूले ६० दिनभित्र आवश्यक विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गरी दर्ता प्रक्रिया पूरा गरेपछि दर्ता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।