टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूसँग भेट गरेका छन् ।

शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो ।

आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएका थिए ।

कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका थिए । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।

साथै घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे । घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाए।