काठमाडौँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले आज सपथ ग्रहण गरेका छन्।
असोज ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका अर्थ मन्त्रालयका सहसचिव शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष सपथ ग्रहण गरेका हुन्। नवनियुक्त अध्यक्ष शर्माले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि प्राधिकरणका अध्यक्ष शरद ओझाका विरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बिमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समिति गठनपछि ओझा स्वतः निलम्बित भएका थिए।
ओझा निलम्बनमा परेपछि भदौ ३० गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्ष पदमा तत्काल व्यवस्था नभएसम्म अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चालक समितिको अध्यक्ष भएर काम गर्न तोक्ने निर्णय गरेको थियो।
ओझाले आफूलाई पदमुक्त गर्ने निर्णय खारेजी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले भदौ २३ गते अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरी यथाअवस्थामा राख्न आदेश दिएको थियो। यसैको आधारमा ओझा भदौ ३१ गते कार्यालयमा उपस्थित भए तर अन्तरिम सरकारकाे अर्थमन्त्री बनेका रामेश्वर खनालले असोज २ गते उनलाई बिमा प्राधिकरणको अध्यक्षको रूपमा काम गर्न नदिन निर्देशन दिएका थिए ।
अहिले ओझालाई ‘होल्ड’ गरेर सरकारले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्