काठमाडौँ । सरकारले मापदण्ड विपरीत सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरूमाथि कडा कारबाही गर्ने भएको छ।
शुक्रवार काठमाडौँकाे अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा अनुगमन गर्न पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले दुई दिनभित्र सुधार नगरे कडा कारबाही हुने चेतावनी दिएका हुन्।
अनुगमनका क्रममा धेरै होटल तथा रेष्टुरेण्टमा सरसफाइमा कमी, किचनमा स्वच्छता नहुँदा खाना पकाउने वातावरण असन्तोषजनक देखिएको, साथै खाद्य सामग्रीको भण्डारणसमेत मापदण्ड विपरीत भएको पाइएको विभागका निरीक्षण अधिकारी सरोज पौडेलले जानकारी दिए।
उनका अनुसार सञ्चालकहरुलाई तत्काल सरसफाइ सुधार गर्न, खाद्य सामग्री मापदण्डअनुसार भण्डारण गर्न र दुईदेखि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। पौडेलले भने, “यो अवधिभित्र सुधार नगरे फलोअपमा कारबाही प्रक्रिया अघि बढाइनेछ।”
दसैँ, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग हुने खाद्य सामग्रीको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न सरकारले प्रत्येक वर्षजस्तै यस वर्ष पनि अनुगमनलाई तीव्रता दिएको हो।



प्रतिक्रिया दिनुहोस्