जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचार निर्मूल गर्ने माग कार्यान्वयन हुनेछः मन्त्री घिसिङ


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताले उठाएको भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने मागलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा रहेका विभिन्न बेथितिहरूको अन्त्य गरी समृद्धितिर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी छ। सुशासनको विषयलाई हामीले गम्भीरतापूर्वक लागू गर्नुपर्नेछ। जेन–जी पुस्ताले उठाएका सुशासनका विषयलाई ध्यानमा राख्दै जनताको सेवामा कुनै कमी हुन दिनु हुँदैन।”

मन्त्री घिसिङले अनियमितता वा भ्रष्टाचारको कुनै गतिविधि देखिएमा तत्काल कारबाही हुने स्पष्ट पनि पार्नुभयो। उनले भने, “अब पनि त्यस्ता गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुनेछ र त्यसले कसैलाई पनि छोड्ने छैन। ठूलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो।”