निर्माण व्यवसायी महासंघद्वारा बाँकी भुक्तानी दिलाउन अर्थमन्त्रीसँग आग्रह


काठमाडौँ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुले पाउन बाँकी रहेको भुक्तानी तत्काल दिलाउन आग्रह गरेका छन् ।

शुक्रबार महासंघको टोलीसहित अर्थमन्त्री रामेश्वर खनालसँग मन्त्रालयमा भेट गर्न पुगेका अध्यक्ष सिंहले जेनजी आन्दोलनका क्रममा सडक विभाग, विकास कार्यालय लगायतका सरकारी निकायमा भएको आगजनीका कारण धेरै फाइल नष्ट भई भुक्तानी प्रक्रिया रोकिएको भन्दै यसलाई सहज बनाउन सरकारसँग माग गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष सिंहले ६ महिनासम्म बैंकहरुले निर्माण कम्पनीका चेक बाउन्स नगर्ने व्यवस्था मिलाइदिनुपर्ने र सावाँ–ब्याजलाई पुँजीकरण गरेर भुक्तानी सहज बनाउनुपर्ने प्रस्ताव अर्थमन्त्रीसमक्ष राखिएको जानकारी दिए ।

यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि उपभोक्ता समिति खारेज गर्ने सरकारी निर्णय स्वागतयोग्य रहेको बताउँदै उहाँले १० लाखभन्दा माथिका योजनामा उपभोक्ता समितिले काम गर्न नपाउने व्यवस्था निर्माण क्षेत्रलाई पारदर्शी र अनुशासित बनाउन महत्वपूर्ण हुने धारणा राखे । उनले उपभोक्ता समितिहरूमार्फत मुलुकको बजेटको ठूलो हिस्सा राजनीतिक भागबण्डामा खर्च हुने गरेको भन्दै यसको अन्त्यले सुशासन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिंहले विगतमा सरकारसँग सम्झौता भएका करिब साढे ६ खर्ब बराबरका योजनामध्ये सम्पन्न गर्न सकिने योजनालाई अघि बढाउने र असम्भव योजनालाई अन्त्य गर्ने विषयमा पनि अर्थमन्त्री सकारात्मक देखिएको जानकारी दिए ।

“निर्माण क्षेत्रमा भएका विकृति अब क्रमशः नियन्त्रणमा आउने देखिएको छ। अर्थतन्त्रलाई सुदृढ बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न सरकारले सुरु गरेको कदम उत्साहजनक छ,” अध्यक्ष सिंहले भने ।