काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरूले जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
शुक्रवार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुक लामो समयसम्म संकट र अनिश्चिततामा रहिरहन नसक्ने उल्लेख गर्दै तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबिच सहकार्य आवश्यक रहेको बताइन्।
उनले दलहरूलाई जनताबिच पुगेर उनीहरुको सुझाव र अपेक्षा अनुसार कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन् ।पूर्वराष्ट्रपति भण्डारीले अस्थिरताले केवल मुलुकभित्रै नभई मित्र राष्ट्रहरुसमेत चिन्तित बनाउने भएकाले शान्ति, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा दलहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
उनले दलका नेताहरुले पार्टीभित्र प्रभावकारी निर्णय लिन नसकी बाहिर मात्र बोल्ने प्रवृत्तिको आलोचना गर्दै अब वास्तविक काम गर्ने समय आएको टिप्पणी गरिन् ।
उनले नयाँ पुस्ताको मनोभावना, माग र आकांक्षालाई सम्बोधन गर्दै मुलुकलाई आधुनिक युगको आवश्यकताअनुसार अघि बढाउन दलहरुले अग्रसर हुनुपर्ने धारणा राखिन् । “राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त र नीति अनुसार कार्यक्रम अघि बढाउनुपर्छ । जनताबाट सुझाव लिन विलम्ब गर्नु हुँदैन,” भण्डारीले भनिन् , “नयाँ पुस्ताको मागलाई सम्बोधन गर्न सके मात्र मुलुकलाई निकास दिन सकिन्छ ।”
वरिष्ठ नागरिकको हैसियतमा आफूले पनि यथाशक्य योगदान गर्ने बताउँदै उनले समाजका सबै तह र तप्काबाट दलहरूलाई सुझाव दिनुपर्ने र दलहरूले त्यसलाई आत्मसात गर्दै मुलुकलाई संकटबाट उबार्न भूमिका खेल्नुपर्नेमा जोड दिइन्।



प्रतिक्रिया दिनुहोस्