माओवादी केन्द्रको केन्द्रिय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले समिति विघटन गर्दै आगामी मंसीरको अन्तिम सातासम्म विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

यसका लागि अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा जेन–जी आन्दोलनलगायत युवाको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ । बैठकले पार्टीलाई निर्वाचनका तयारीमा पूर्ण रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता सापकोटाले भने“जेन–जी आन्दोलनलाई विश्लेषण गर्दै पार्टीको विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठन गरिएको छ । अध्यक्षसहित पदाधिकारीको व्यवस्था स्थगित गरिएको छ । अब हामीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्नेछौँ ।”

बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता र सहकार्यको प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ । विचार मिल्ने पक्षसँग विभिन्न बुँदामा सहकार्य गर्ने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रलाई मजबुत बनाउन पहल गर्ने निर्णय पनि भएको छ । साथै, जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा पार्टी संरचनाको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने, कैदीबन्दी र सामाजिक असुरक्षाबाट प्रभावित जनताको सुरक्षाका लागि स्थानीय तहमा जनपरिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी, नेताहरूको आचरण र सम्पत्ति छानबिन गर्न ‘सम्पत्ति छानबिन आयोग’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सापकोटाका अनुसार पदाधिकारीबाटै सुरु गर्ने गरी सम्पत्ति छानबिनको काम अघि बढाइनेछ । उनले थपे“कार्यालय, सचिवालय र नेताका परिवारको व्यवस्थापनसमेत नयाँ ढंगले अघि बढाइनेछ ।”

माओवादी केन्द्रले विशेष महाधिवेशनमार्फत आन्तरिक संरचना पुनर्गठन गर्ने, युवाको भूमिकालाई प्राथमिकतामा राख्ने र संगठनलाई चुनावी मोडमा परिचालन गर्ने स्पष्ट संकेत दिएको छ ।