देशका पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना, बाँकी भू–भागमा मौसम आंशिक बदली


काठमाडाैँ । देशभर मनसुनी वायूको प्रभाव कमजोर रहँदा स्थानीय वायूको आंशिक प्रभावका कारण आगामी २४ घन्टा मौसममा उतारचढाव रहने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको विवरण अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशसहितका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। तर, कोशीसहितका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना यथावत् रहेको महाशाखाले स्पष्ट पारेको छ।