काठमाडौँ । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनका कारण देशको पर्यटन क्षेत्रमा मनोबलमा गिरावट आएको जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्व पर्यटन दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले पर्यटक आगमनमा प्रत्यक्ष असर गरेको जानकारी दिए ।
उनले तथ्याङ्क सार्वजनिक गर्दै गत वर्ष असोजको पहिलो हप्तामा प्रतिदिन करिब ३३–३४ सय पर्यटक आगमन भएपनि यस वर्ष जेन–जी आन्दोलनका कारण यो संख्या घटेर करिब १६ सय पुगेको छ। यो करिब ४५ प्रतिशतले गिरावट हो।
प्रमुख कार्यकारी जोशीले भने, “यो भदौ २३ र २४ गते भएको आन्दोलनका कारण अलिकति आगजनीका घटनाहरु भएका थिए, जसले पर्यटन आगमनमा कमी ल्यायो। तर त्यसपछिका हप्ताहरूमा संख्या क्रमिक रूपमा सुधार भइरहेको छ। पछिल्लो हप्तामा करिब २ हजार ९ सय पर्यटक आगमन भएको छ। अब थप असहज अवस्था नभए पर्यटन क्षेत्र फेरी रिकभरीतर्फ अगाडि बढ्ने देखिन्छ।”
उनले पर्यटन प्रवर्धनका लागि सरकारले सरकारी निकाय, निजी क्षेत्र र व्यवसायिक घरानासँग मिलेर प्रभावकारी सन्देश प्रवाह गरिरहेको पनि जानकारी दिए । साथै, पर्यटन बोर्डले पर्यटक भित्र्याउन सही सूचना प्रणालीको व्यवस्थापनमा विशेष ध्यान दिएको र दिगो पर्यटन प्रवर्द्धनको लक्ष्यसहित काम अघि बढाएको दाबी गरेको छ।
प्रमुख कार्यकारी अधिकृत जोशीले सरकार र निजी क्षेत्रले संयुक्त प्रयास गर्दै सूचना प्रणालीलाई प्रभावकारी बनाउने र यसमार्फत पर्यटकलाई सहज रूपमा नेपाल भित्र्याउने पहल जारी राख्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्