सल्यानमा जिप दुर्घटना, ३ जनाको मृत्यु


दाङ । रुकुमबाट दाङतर्फ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान कपुरकोट–३ चोरखोला क्षेत्रमा लु २ ख ६५०२ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयबासीका अनुसार उक्त सडक खण्ड भौगोलिक हिसाबले निकै जोखिमपूर्ण मानिन्छ । वर्षा लागेसँगै चिपचिपो बाटो, बारम्बार खस्ने पहिरो र अपर्याप्त सुरक्षात्मक संरचनाले यस क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको छ ।