काठमाडौँ । भाद्र २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्न सिफारिस गरेको समाचारप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ।
पार्टीको केन्द्रीय सचिवालयले आइतबार जारी वक्तव्यमार्फत यसअघि नै गृह मन्त्रालयमार्फत् मिडिया ट्रायल गरिएको र दशैंको अवसर पारेर गरिएको यो कदम राजनीतिक प्रतिशोधले प्रेरित रहेको आरोप लगाएको छ। “यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा भएको छ,”वक्तव्यमा भनिएको छ।
त्यस्तै, भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरूमाथि कारबाही अघि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि पार्टीले आपत्ति जनाएको छ।
सचिवालयले उक्त निर्देशनले प्रहरीको कानुनी अधिकारमा हस्तक्षेप मात्र नभई अपराधीलाई उन्मुक्ति दिने खालको मनसाय बोकेको आरोप लगाउँदै प्रहरीलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ।
यसैबिच पछिल्ला घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटीको दशौँ बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने भएको छ। सोभन्दा अघि असोज १९ र २० गते केन्द्रीय सचिवालय बैठक बस्ने कार्यक्रम तय गरिएको छ।



प्रतिक्रिया दिनुहोस्