चाडपर्व लक्षित खाद्य निरीक्षण: म्याद गुज्रिएका र अस्वच्छ वस्तु नष्ट


काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर विशेष अनुगमन सञ्चालन गरेको छ।

विभाग मातहतका कार्यालय तथा खाद्य प्रविधि डिभिजन कार्यालयहरूको समन्वयमा जिल्ला प्रशासन, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय निकायका प्रतिनिधिहरुको सहभागितामा अनुगमन गरिएको हो।

विभागले असोज ४ देखि असोज ९ सम्म सञ्चालन गरिएको अनुगमनका क्रममा ३५१ ओटा किराना पसल, ७३ ओटा खाद्य उद्योग र २१७ ओटा राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्ट निरीक्षण गरेको जनाएको छ।

निरीक्षण क्रममा संकलित नमूनाहरू थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको विभागले जानकारी दिएको छ।

अनुगमनका क्रममा स्पष्ट लेबल विवरण नभएका, म्याद गुज्रिएका, स्थलगत परीक्षणमा कैफियत देखिएका तथा ऐन विपरीत रहेका करिब १ लाख ३८ हजार २ सय ९१ रुपैयाँ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको विभागले जनाएको छ।

साथै, प्रयोगयोग्य नठहरिएका ४७ थान प्रशोधित पिउने पानीका जार पनि नष्ट गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवसायीविरुद्ध विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागले सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई ऐनको दफा २० देखि २५ बमोजिम तोकिएको दायित्व पूरा गर्न र अनुमति पत्र लिएर मात्रै खाद्य व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्सना श्रेष्ठले ऐनको उल्लङ्घन गर्ने व्यवसायीविरुद्ध कडा कारबाही हुने चेतावनी दिएकी छन्।