जेनजी आन्दोलनमा घाइतेलाई रु.२० हजार सहयोग, गृह मन्त्रालयले सुरु गर्यो परिचयपत्र वितरण


काठमाडौँ । गृह मन्त्रालयले भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार सहज बनाउन परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरू गरेको छ।

मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा गृह मन्त्रालयले आजदेखि परिचयपत्र वितरण थालेको हो।

यससँगै घाइते भएकाहरूलाई तत्काल भैपरी खर्चका लागि प्रतिव्यक्ति रु. २० हजार उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। सो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ।

घाइते भएर उपचारार्थ अस्पताल पुगेका व्यक्तिहरूले आफ्नो बिरामी टिकट वा कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।