काठमाडाैँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म जनचेतनामूलक प्लेकार्डसहित विशेष र्याली निकालिएको थियो।
र्यालीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनामुक्त बनाउन सबैले ट्राफिक नियमको पालना गरेर सभ्य समाज निर्माणमा योगदान दिनुपर्नेमा जोड दिए । उनले यस किसिमका कार्यक्रमहरू जनचेतनाका लागि लाभदायी हुने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा.ओममुर्ति अनिलले चाडपर्वको समयमा समाजलाई सचेत बनाउन गरिएको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले चाडपर्वको बहानामा मादक पदार्थ सेवन, तीव्र गतिमा सवारी चलाउने वा लागूपदार्थ प्रयोग गर्ने कार्य हानिकारक हुने भएकाले त्यसबाट टाढा रहन आग्रह गरे
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले धन्यवाद मन्तव्य दिएका थिए ।
एसएसपी अधिकारीले हालको चुनौतीपूर्ण परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक प्रहरी सडक सुरक्षाका लागि खटिरहेको र यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, सामुदायिक प्रहरी प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया दिनुहोस्