शिक्षकहरूले तलब नपाएको ५०० भन्दा बढी गुनासो, मन्त्री पुनले सुरू गरे अनुसन्धान


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मधेशका पालिकामा शिक्षकहरूलाई तलब नपाएको घटनाबारे फेसबुकमार्फत जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार विगत वर्षभरि मधेशबाट ५०० भन्दा बढी शिक्षकहरूले फोन र इमेलमार्फत तलब नपाएको गुनासो गरेका छन्।

“वर्ष दिनमा आउने दशैं, तिहार र छठ जस्ता महान चाडपर्वको बेलामा पनि सम्बन्धित पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाउँदै शिक्षकहरुलाई तलब नखुवाएको घटना आएको छ। शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई समयमै रकम पठाइसकेको भएता पनि यस्तो बेथिति देखिएको छ,”उनले लेखेका छन् ।

मन्त्री पुनले यस घटनाको कारण खोज्न र समाधानको उपाय निकाल्न अनुसन्धान प्रक्रिया सुरू भएको जानकारी दिएका छन्। उनले पालिकाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र शिक्षकको तलब समयमा सुनिश्चित गर्न निर्देशन दिएका छन्।