भीमसेनस्थानमा आगलागीः चार घर र निजी मन्दिर क्षतिग्रस्त


काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २०, भीमसेनस्थान नजिकै सोमबार बिहान आगलागीले चारवटा घर र एक निजी मन्दिरमा क्षति पुर्‍याएको छ।

काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले आगो पूर्ण रूपमा नियन्त्रणमा नआए पनि ९० प्रतिशत निभाइसकिएको जानकारी दिए । उनले भने, “आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ, तर पूर्ण रूपमा निभाउन अझै केही समय लाग्न सक्छ।”

आगलागी वडा २० स्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट सुरू भएको थियो। जोशीका अनुसार गोदाममा रहेका कपडा, कार्पेट र अन्य ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलियो। गोदाममा रहेका ग्यास सिलिन्डर पड्किँदा आगो झन् भयावह बनेको थियो। प्रारम्भिक अनुमानअनुसार आगलागीको कारण इलेक्ट्रिक सर्किट सर्ट हुन सक्ने देखिएको छ।

आगलागी भएको खबर बिहान ४:४१ मा प्राप्त भएको थियो। तत्काल काठमाडौँ महानगरपालिकाबाट पहिलो दमकल बिहान ४:४४ मा र दोस्रो ५:०१ मा घटनास्थल पुगेका थिए। त्यसपछि ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलहरू समेत परिचालन गरी जम्मा छवटा दमकल घटनास्थलमा खटाइएको थियो।

स्थानीय स्वीपरले बिहान फोहोर सङ्कलनका क्रममा आगो देखेर सूचना दिएपछि दमकलहरू तुरुन्तै घटनास्थल पुगेको महाशाखा प्रमुख जोशीले जानकारी दिए।

आगलागीबाट प्रभावित चारवटा घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने दुईवटा घरमा ५० प्रतिशतभन्दा बढी र बाँकी एक घरमा करिब २५ प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान छ। साथै, प्रभावित घरमाथि रहेको निजी मन्दिर (गुठीको मन्दिर) पनि क्षतिग्रस्त भएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ, यद्यपि पुराना स्टिल स्ट्रक्चर भएका भवनमा आगोले ठूलो क्षति पुर्‍याएको जनाइएको छ।

आगलागीको क्रममा पाँच जनालाई उद्धार गरिएको छ, जसमा दुई जना वयस्क र तीन जना बालबालिका रहेका छन्। जोशीले भने, “नगरप्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयसँग मिलेर प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम गरेका छन्।”