मुग्लिङ–नारायणगढ सडकखण्ड खुलाउन सहयोग गर्ने प्राविधिक टोली र स्थानीयलाई मन्त्री घिसिङले भने: हार्दिक धन्यवाद


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंका अवसरमा सबै नेपाली सकुशल घर पुगेको आशा व्यक्त गर्दै मुग्लिङ–नारायणगढ सडकखण्डमा पटक–पटक खसेका पहिरो हटाउने क्रममा संलग्न सबैलाई धन्यवाद दिएका छन्।

मन्त्री घिसिङले आफ्नो सामाजिक सञ्जालमार्फत् लेख्दै असोज ७ गते तुइन खोलामा आएको विशाल पहिरोका कारण सडक अवरुद्ध भए पनि प्रतिकूल मौसमबिच प्राविधिक टोली, सुरक्षाकर्मी र स्थानीयको अथक मिहिनेतमा केही घण्टामै यातायात सुचारु गरिएको स्मरण गराए।

उनका अनुसार असोज १३ गते सोही स्थानमा तेस्रो पटक ठूलो पहिरो खसे पनि करिब ६ घण्टाभित्रै सडक पुनः सञ्चालनमा ल्याई यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गरिएको छ।

“जनताको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै अझ द्रुत र प्रभावकारी ढंगले काम गर्न हामी निरन्तर तत्पर रहनेछौँ,” मन्त्री घिसिङले लेखेका छन्।