काठमाडाैँ । नेपाली कांग्रेसले भाद्र २३ गते जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनलाई आधार बनाएर विभिन्न आपराधिक समूहहरूले देशभर अकल्पनीय ढंगले सिर्जना गरेको हिंसा, तोडफोड, लुटपाट र आगजनीको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टीले उक्त घटनाको छानबिन गर्ने क्रममा सरकारको भूमिकाप्रति आपत्ति जनाउँदै दण्डहीनतालाई प्रोत्साहन गर्ने र प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएको छ।
कांग्रेसद्वारा जारी वक्तव्यमा भाद्र २४ गते बिहानदेखि सुरू भएको तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको, सयौँ घाइते भएका र ७६ जनाभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ। “राष्ट्रलाई खरबौँको क्षति पुगेको यस अकल्पनीय र दुःखद घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,”कांग्रेसद्वारा जारी वक्तव्यमा भनिएकाे छ ।
सरकारले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गरेको निर्णयलाई स्वागत गर्दै पनि कांग्रेसले गृहमन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसकै आधारमा जारी परिपत्रमाथि कडा आपत्ति जनाएको छ। वक्तव्यमा भनिएको छ, “राजनीतिक दल र तिनका नेतामाथि प्रतिसोधपूर्ण ढंगले आक्रमण गर्ने, कार्यालय तोडफोड गर्ने, सुरक्षाकर्मीको हातहतियार लुट्ने जस्ता प्रमाणित घटनामा संलग्नलाई कानूनी कारबाही नगर्ने आशयको विज्ञप्तिले संविधानवाद, कानूनी राज्य र विधिको शासनको धज्जी उडाएको छ।”
कांग्रेसले घटनाको छानबिन सुरु नहुँदै आयोगको हवाला दिँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिसोधपूर्ण निर्णय भइरहेको आरोप लगाएको छ। विशेष गरी राहदानी रोक्का गर्ने, मुलुकभित्रै आवतजावत निषेध गर्ने जस्ता कदम सरकारको असंवैधानिक तथा गैरकानुनी गतिविधिको परिचायक भएको कांग्रेसको ठहर छ।
“सरकारको प्रत्यक्ष निर्देशनमा आयोगलाई नभएको अधिकार दिने, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात गर्ने कार्य हुँदै गएको छ। सरकार आफ्ना तोकिएका जिम्मेवारी पूरा गर्ने भन्दा अर्कै बाटो हिँड्न खोजेको स्पष्ट देखिन्छ,”वक्तव्यमा भनिएको छ ।
नेपाली कांग्रेसले अन्तरिम सरकारलाई सचेत गराउँदै दण्डहीनतालाई प्रोत्साहन गर्ने र राजनीतिक दलप्रति प्रतिसोधपूर्ण राजनीति गर्ने नीति अपनाए नेपाली जनताले कदापि स्वीकार नगर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्