काठमाडौँ । चाडपर्वको भीडभाडलाई अवसरका रूपमा प्रयोग गरी बढी भाडा असुल्ने र टिकटमा कालोबजारी गर्नेहरूमाथि सरकार कडा हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्कालै कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री घिसिङले यात्रुहरूलाई पनि प्रत्यक्ष संलग्न हुन आग्रह गर्दै भनेका छन्, “कसैले स्वीकृत दरभन्दा बढी भाडा असुल्ने वा टिकटमा कालोबजारी गर्ने गरे तुरुन्त स्थानीय प्रशासन र सुरक्षासमेतलाई खबर गर्नुपर्छ ।”
उनको सचिवालयले जारी गरेको प्रेस नोटमा हाल देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिएको छ। “यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने अवसर बनाउन नखोज्नुस्,” वक्तव्यमा भनिएको छ ।
यात्रुबाट लगातार बढी भाडा र कालोबजारीसम्बन्धी गुनासा आइरहेका बेला मन्त्री घिसिङको चेतावनीले सरकारी निगरानी थप कडा हुने सङ्केत गरेको विश्लेषण गरिएको छ । सरोकारवालाहरूका अनुसार यात्रु सजग बनेर प्रतिवेदन दिने हो भने अनियमिततामाथि तत्कालै अंकुश लगाउन सकिने छ ।
विशेषगरी दसैँ–तिहार जस्ता चाडबाडमा लामो दूरीका यात्रु ठगिने घटनाहरू दोहोरिने परम्परा रोक्न मन्त्री घिसिङको यो सार्वजनिक अपिललाई निर्णायक कदमको रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्