नारायणगढ–मुग्लिन सडक निर्वाध, यात्रुलाई सहज


चितवन । बडादसैँको नवौँ दिन बुधबार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग निर्वाध रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

दसैँ सुरु भएसँगै पटक–पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको सडक खण्ड आज भने निर्विघ्न सञ्चालनमा छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम छ भने अवरोध पनि परेको छैन ।

उनका अनुसार राजमार्गमा यात्रु सहज आवागमन होस् भन्ने उद्देश्यले दसैँ अवधिभर २४ घण्टा सुरक्षाकर्मी खटिएका छन् । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदो सहितको पहिरो खस्दा साँझ ७ः३० बजेदेखि करिब एक घण्टा सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाएपछि राति ८ः४० बजेदेखि दुबै तर्फ सवारीसाधन सञ्चालनमा आएको हो ।

गएको रातसम्म पनि सवारीसाधनको चाप बढि देखिए पनि आज बिहानदेखि भने चाप घटेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका भए पनि अहिले अवस्था सामान्य रहेको र राजमार्ग निर्वाध रूपमा सञ्चालनमा रहेको प्रहरीको भनाइ छ ।