काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ३ सय १६ जनाले देशभरका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिएको सरकारी तथ्याङ्कले देखाएको छ । भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा देशभर भएका झडप, तोडफोड र आगजनीका घटनामा ७६ जनाले ज्यान गुमाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलन सुरू हुँदा देशभरका ८३ वटा अस्पतालले घाइतेहरूको उपचार गरेका थिए । घाइतेहरूमध्ये कतिपयलाई सामान्य उपचारपछि घर पठाइएको भए पनि केही भर्ना भएर शल्यक्रिया गर्नुपरेको र अहिले पनि विभिन्न अस्पतालमा उपचाररत रहेको उनले जानकारी दिए ।
उनका अनुसार हाल देशभरका १० वटा अस्पतालमा ३८ जना घाइतेहरूको उपचार भइरहेको छ । अस्पतालमा पुग्ने क्रममा वा उपचारकै क्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको उनले बताए ।
यसअघि उपचार गराइएका मध्ये २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आन्दोलनका क्रममा एम्बुलेन्समार्फत मात्र ९ सय ४७ जना घाइते अस्पताल पु¥याइएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्