अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छ मासु खाने तरिका


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ र दूषित माछा–मासु सेवनले १६० भन्दा बढी रोग निम्त्याउने खतरा रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले चाडपर्वको समयमा खानपानमा हुने असन्तुलन र जीवनशैलीमा हुने अव्यवस्थाले स्वास्थ्य समस्या झनै बढाउने बताए । उनका अनुसार दीर्घरोगी मात्र नभई सामान्य अवस्थामा रहेका व्यक्तिमा समेत आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष सतर्कता आवश्यक छ ।

डा. बुढाथोकीले मासुका परिकार अत्यधिक खाने, सेकुवा, तार्ने, भुट्ने वा काँचै सेवन गर्ने प्रवृत्तिले पाचन प्रणालीमा समस्या उत्पन्न गर्ने उल्लेख गरे । यसले कब्जियत, झाडापखाला तथा खाद्य नलीको क्यान्सरसम्मको जोखिम बढाउने चेतावनी दिए । उनले काँचो मासुबाट पनि रोग सर्ने भएकाले ‘गोठदेखि ओठसम्म’ शुद्धिकरणको ध्यान दिनुपर्ने बताए ।

उनले मासु पकाउँदा प्रेसर कुकरमा ५–६ सिठी लगाएर झोलिलो बनाउन र सँगसँगै हरियो सागपात, दाल तथा सलाद सेवन गर्न सुझाव दिए । उनका अनुसार माछा–मासु मात्र खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ, त्यसैले संतुलित खानपान गर्न आवश्यक छ ।

चाडबाडमा नियमित व्यायाममा लापरबाही नगर्न आग्रह गर्दै उनले मर्निङ वाकलाई निरन्तरता दिनुपर्ने बताए । दीर्घरोगीका लागि औषधि समयमै सेवन गर्नुपर्ने र चाडबाड सुरु हुनुअघि नै आवश्यक औषधि खरिद गरी सुरक्षित राख्नुपर्ने सुझाव पनि उनले दिए ।

डा. बुढाथोकीले स्वास्थ्यका दृष्टिले सेतो मासु (जस्तै कुखुरा, माछा वा अन्य पंक्षीको मासु) सेवन गर्न उपयुक्त हुने बताए । उनका अनुसार खसी, राँगा, बोका, बाख्राजस्ता जनावरको रातो मासुले स्वास्थ्य समस्या थप जटिल बनाउन सक्छ ।