सर्लाहीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चारको मृत्यु


काठमाडाैँ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको ज्यान गएको छ।

मृत्यु हुनेहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

बुधवार बिहान करिब ९ बजेर २० मिनेटतिर माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरू पुरिएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइते अवस्थामा रहेका चारैजनालाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। तर अस्पतालले पौने ११ बजे सबैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धानका लागि सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।