काठमाडौँ । दसैँ सुरू भएसँगै राजधानी छाड्नेहरूको संख्या यसपालि अपेक्षाकृत कम भएको छ । घटस्थापनादेखि नवौँ दिनसम्म करिब छ लाख मानिस काठमाडौँ छाडेका छन्, जुन गत वर्षको तुलनामा कम हो ।
यातायात विज्ञ आशिष गजुरेलका अनुसार यस वर्ष दसैँमा धेरैले यात्रा गर्न हिच्किचाउनुका पछाडि विभिन्न कारण रहेका छन् । उनका अनुसार जेनजी आन्दोलनको प्रभावले मानिसमा गत वर्षजस्तो चाडपर्वको उत्साह नदेखिएको छ भने, सडकको अवस्था र लगातार पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।
दसैँको मुखैमा मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा ४० घण्टाभन्दा बढी यात्रुहरू अलपत्र पर्नु परेको घटनाले अझै धेरैलाई डराएको उनले बताएका छन्।
यस्तै मनसुनको समयमा दसैँ परेको कारण यात्रा कठिन बनेको र मागअनुसार सिट वा टिकट उपलब्ध नहुँदा पनि धेरैले अनावश्यक भीडभाडपूर्ण यात्रा नगरेको गजुरेलले उल्लेख गरेका छन्। “धेरै वा चौडा सडक बनाउनुभन्दा पनि व्यवस्थित र सुरक्षित यात्रा गर्ने व्यवस्थापन गर्नतर्फ सोच्नु जरुरी छ,” उनले भने।
अबको उपायबारे सुझाव प्रस्तुत गर्दै गजुरेलले रहेका सडकहरूको अध्ययन गरेर सुरक्षित बनाउन लगानी गर्नुपर्ने, सार्वजनिक यातायात सुधार गर्नुपर्ने र दशैंजस्ता अवसरमा अतिरिक्त बस व्यवस्थापनका लागि स्कुल तथा कलेजका बस प्रयोग गर्ने व्यवस्था मिलाउन सकिने बताए।
उनले नयाँ सरकारले सडक निर्माण मात्र होइन, यातायात व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्