माैसम विभागले भन्याेः असोज १७–२० गतेसम्म बाढी र आकस्मिक बहावको जोखिम उच्च छ, सचेत रहनु


काठमाडाैँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्दै नेपालमा मनसुनी गतिविधि सक्रिय हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको प्रभावले आगामी असोज १७ देखि असोज २० गतेसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने सम्भावना छ।

विभागले जारी गरेको विश्लेषण अनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा यीका सहायक नदीहरूको बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ। साथै महाभारत र चुरे भेगबाट बहने स–साना नदीनालामा आकस्मिक बहाव हुने सम्भावना रहेको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशको वारा, पर्सा, सर्लाही, रौतहटका नदीहरूमा आकस्मिक बहाव उच्च हुने खतरा रहेको विभागले जनाएको छ।

हाल नेपालमा मनसुन पूर्ण रूपमा बाहिर निस्किएको छैन र विभागले मौसम तथा बढ्दो वर्षाको सम्भावित जोखिमलाई नियमित अनुगमन गरिरहेको छ। यसैबीच, विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री सेवा ११५५ र SMS मार्फत अद्यावधिक पूर्वसूचना उपलब्ध गराइरहेको छ।

विभागले आमसर्वसाधारण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई सम्भावित बाढी, डुबान, पहिरो, भू-क्षय तथा यातायात अवरुद्ध हुन सक्ने जोखिमको बारेमा सचेत रहन र आवश्यक पूर्वतयारी अपनाउन हार्दिक अपिल गरेको छ।