रास्वपाले भन्यो: विजयादशमीले एकताको सूत्रमा बाँधोस्


काठमाडौँ। विजयादशमीको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले जारी गरेको सन्देशमा विजयादशमीले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिने उल्लेख छ।

अर्यालले दशैंलाई धार्मिक उत्सव मात्र नभई पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा नेपालीहरूले मनाउँदै आएको बताए।

उनका अनुसार, यस वर्षको दशैं जेन–जी आन्दोलनका कारण अपूरणीय जनधन क्षतिबिच धार्मिक–सांस्कृतिक परम्परा धान्नकै लागि मनाउनुपरेको भए पनि यसले नेपाली समाजलाई फेरि एकताको सूत्रमा बाँधेको छ।

सन्देशमा देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्दै नयाँ नेपाल निर्माणको अभियानमा दृढ संकल्प र सहकार्य गर्न सबैलाई प्रेरित गरोस् भन्ने आशा व्यक्त गरिएको छ।

साथै, दशैंको टीकासँगै प्राप्त हुने शुभाशिषले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि थप्ने विश्वास पनि व्यक्त गरिएको छ।