आजदेखि भारी वर्षाको सम्भावना, काठमाडौँ प्रशासनले भन्याेः विशेष सतर्कता अपनाउनु हाेस्


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस अवधिमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो र भू–क्षय जस्ता विपद्‌जन्य घटनाबारे विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

कार्यालयले जारी गरेको सूचनामा अत्यन्त जरुरी नपरी सकेसम्म लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातको समयमा काठमाडौं प्रवेश गर्ने वा बाहिरिने यात्राबाट जोगिन आग्रह गरिएको छ। वर्षाको कारण जोखिमयुक्त क्षेत्रमा दुर्घटना, पहिरो वा आवतजावतमा अवरोध हुने सम्भावना रहेकाले सबै नागरिकलाई आफ्नो स्थानमै रहन र उच्च सतर्कता अपनाउन भनिएको छ।

यस्तै, विपद्को अवस्थामा तत्काल उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर काठमाडौँको सम्पर्क नम्बर १६६०-०१-४१५१६, ९८५१२८३०२६, ०१-५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं.२० (विपद् उद्धार) गण, सिनामंगलको सम्पर्क नम्बर ९८५१२७२०३५, ०१-४४७१३३७ वा जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रको सम्पर्क नम्बर ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक विपद्‌ व्यवस्थापन र जनधनको सुरक्षा प्राथमिकतामा रहेको भन्दै सबैलाई समयमै सतर्क रहन पुनः अनुरोध गरेको छ।