काठमाडौँ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा हवाई टिकटको अत्यधिक माग हुने र सहज उपलब्धता नहुँदा यात्रुहरूले तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था देखिन सक्ने सम्भावनालाई न्यूनिकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट निर्देशन जारी गरेको छ ।
प्राधिकरणका अनुसार वायुसेवा कम्पनी र सरोकारवालाहरूलाई नेपाल सरकारद्वारा स्वीकृत अधिकतम भाडादरभन्दा कम दरमै टिकट बिक्री वितरण गर्न पटक–पटक निर्देशन दिइएको भए पनि चाडपर्वको समयमा अनियमितता बढ्ने भएकाले यात्रुलाई सतर्क रहन अपिल गरिएको हो ।
प्राधिकरणले नेपाल सरकारद्वारा तोकिएका विभिन्न ट्रनक सेक्टरहरूको उच्चतम भाडादर सार्वजनिक गर्दै कुनै पनि कम्पनी वा आधिकारिक टिकट विक्रेता तथा ट्राभल एजेन्सीले यसभन्दा बढी रकम असुल गर्ने कार्य गैरकानुनी हुने चेतावनी दिएको छ । उदाहरणका लागि काठमाडौँ–विराटनगरको अधिकतम भाडा ९ हजार ७८५ रुपैयाँ, काठमाडौँ–पोखराको ६हजार ६३५ रुपैयाँ, काठमाडौँ–नेपालगञ्जको १३ हजार १०३ रुपैयाँ र काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ तोकिएको छ ।
यदि तोकिएको भन्दा बढी भाडा असुल गरिएको पाइए यात्रुले सम्बन्धित विमानस्थल कार्यालय, विमानस्थलस्थित सुरक्षा प्रहरी, प्राधिकरणको वेबसाइटमा रहेको Voluntary Information Reporting System (VIRS) वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हॉटलाइन नम्बर ०१४११३१६३ मा जानकारी गराउन सक्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले तोकिएको भन्दा बढी दरमा टिकट बिक्री गर्ने वायुसेवा कम्पनी, आधिकारिक टिकट विक्रेता वा ट्राभल एजेन्सीलाई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिंदै यात्रुको अधिकार सुरक्षित गर्ने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्