विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको राष्ट्रिय सुरक्षा संवेदनशील रहेको अवस्थामा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन र नागरिकसँगको सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको बताएका छन्।

असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका बीच भर्चुअल रूपमा आयोजित मनसुन सम्बन्धी विपद् संवाद बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह निरन्तर रहनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा गृह सचिव रामेश्वर दंगाल, गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरू सहभागी भएका थिए।

गृहमन्त्री अर्यालले संभावित विपद्बाट जनधनको क्षति न्यून गर्न सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रभावकारी सञ्चार आवश्यक रहेको बताए। गृह सचिव दंगालले राष्ट्रियस्तरमा प्राधिकरण र जिल्लामा जिल्ला सुरक्षा समिति/विपद् व्यवस्थापन समितिले एकद्धार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धारमा नेतृत्व दिनुपर्ने र मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरू सक्रिय राख्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार सबै जिम्मेवार निकाय सक्रिय हुनुपर्ने बताए। बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह, जिल्लास्थित विपद् सम्बद्ध सबै निकायसँग समन्वय गर्ने र राष्ट्रिय प्राधिकरणले सुरक्षा निकाय, लिड्स, काे-लिड्स, निजी क्षेत्र तथा सञ्चार माध्यमसँग समन्वय गर्ने निर्णय गरेको छ।

पूर्वानुमानअनुसार जोखिमपूर्ण क्षेत्रमा सवारी साधन संचालनमा रोक लगाउने, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराउने, खोज तथा उद्धारका लागि सुरक्षा निकाय र स्वयंसेवक तयारी अवस्थामा राख्ने, र लिड्स, काे-लिड्स योजनाअनुसार पूर्ण रूपमा क्रियाशील हुने निर्णय पनि बैठकले गरेको छ।

साथै, राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्र चौविसै घण्टा सक्रिय राख्ने र आपत्कालीन गोदामघर तत्पर अवस्थामा राख्ने तयारी पनि बैठकले तय गरेको छ।