काठमाडौँ । सडक विभागले देशका विभिन्न राजमार्गमा मनसुनजन्य जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा उच्च मात्रामा वर्षा हुने अनुमान गरेपछि विभागले सूचना जारी गरेको हो।
विभागले सम्भावित भारी वर्षासँगै पहिरोको जोखिम उच्च हुने भन्दै विशेषगरी नागढुंगा–मुग्लिङ सडक, मुग्लिङ–नारायणगढ सडक, बीपी राजमार्ग, अरनिको राजमार्ग, गल्छी–स्याफ्रुबेशी–रसुवागढी सडक, त्रिभुवन राजपथ र नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा राति यात्रा नगर्न अनुरोध गरेको छ।
विभागका अनुसार बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म यी सडक खण्डहरूमा यात्रा नगर्नु उपयुक्त हुन्छ।
सडक अवरुद्ध भएमा विभागीय नीतिअनुसार तत्काल उपकरण परिचालन गरी पहिरो हटाउने व्यवस्था मिलाइएको र सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
साथै, सडक अवरुद्ध वा अन्य समस्या देखिएमा सडक विभागको कन्ट्रोल रुमको टोल फ्री नम्बर ९८५१४१६८९३, नजिकको सडक कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस्