मनसुन सक्रिय : प्रधानमन्त्रीको कार्यालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी दिनहरूमा हुने वर्षालाई मध्यनजर गर्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमान अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।

वर्षासँगै नारायणी, वागमती, कमला र कोशीसहितका प्रमुख नदी तथा सहायक नदीहरूको पानीको सतह उल्लेख्य रूपमा बढ्दै खतरा तहमा पुग्ने संभावना देखिएको छ।

साथै मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रमा बग्ने साना नदीनालामा आकस्मिक बाढी, भेल र खहरे खोलाको जोखिम रहेको चेतावनी दिइएको छ।

काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट र सर्लाहीमा समेत आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने सम्भावना भएकाले त्यहाँका वासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

डुवानको जोखिम भएका क्षेत्रका नागरिकलाई अग्लो र सुरक्षित स्थानमा सर्ने तयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ।

साथै आधिकारिक निकायको निर्देशनअनुसार संवेदनशील स्थानमा अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकायका उद्धारकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था र आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पूर्वतयारी, प्रतिकार्य, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा उच्च सक्रियताका साथ जुट्न आग्रह गरिएको छ।