भारी वर्षाको प्रक्षेपण : कांग्रेसद्वारा सरकार, दल र नागरिकलाई उच्च सतर्कता र तयारीको आह्वान


काठमाडाैँ । मौसम विज्ञान विभागले आजदेखि सक्रिय हुने गरी प्रक्षेपण गरेको भारी वर्षा प्रणालीले बाढी र पहिरोको ठुलो जोखिम ल्याउने चेतावनी दिएको छ। गत वर्ष असोज १२ गतेको विपद् र यस वर्ष भदौ २३–२४ मा भएको क्षतिले देशलाई अझै मर्माहत बनाइरहेका बेला पुनः ठुलो जोखिम संकेत भएपछि नेपाली कांग्रेसले सरकार, राजनीतिक दल, संबद्ध निकाय, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई उच्च सतर्क रहन र पुर्वतयारीमा जुट्न आह्वान गरेको छ।

कांग्रेसले सात बुँदे सतर्कता अपिल जारी गर्दै दशैंको समयमा लाखौँ नागरिक सडक यात्रामा रहेकोले मौसमको प्रतिकूलताबारे प्रभावकारी सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ।

सरकारले जारी गर्ने निर्देशन र सूचनाको अनिवार्य पालना गर्न आग्रह गर्दै कांग्रेसले जोखिम क्षेत्रका नागरिकलाई आवश्यक परे सुरक्षीत स्थलतर्फ अस्थायी रूपमा सार्न स्थानीय तह र प्रशासनलाई पहल गर्न आह्वान गरेको छ।

पहाडी भौगोलिक कठिनाइलाई स्मरण गर्दै कांग्रेसले भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्गलाई अस्थायी रूपमा बन्द गर्नुपर्ने सुझाव दिएको छ। साथै सडक बन्द वा अवरोधका कारण यात्रु र स्थानीयवासीलाई पर्न सक्ने कष्ट न्यूनीकरणका लागि स्थानीय प्रशासन, सरकार, दल र स्वयंसेवकबिच सहजीकरण आवश्यक हुने जनाएको छ।

पार्टीले विपद् व्यवस्थापनका लागि स्रोत, साधन र उद्धार टोली तयारी अवस्थामा राखी तीनै तहका सरकारबीच समन्वयमा प्रतिकार्य प्रभावकारी बनाउन जोड दिएको छ। साथै तत्कालीन जोखिमलाई मध्यनजर गर्दै अन्य कार्य केही दिनका लागि थाती राखी एक्यबद्ध भएर चुनौती सामना गर्न सबैलाई आह्वान गरिएको छ।

कांग्रेसले सरकारलाई जिम्मेवार ढंगले सजगता र तयारीका लागि जोड दिँदै दलहरू र सम्पूर्ण नेपाली नागरिकमा सचेत रहन हार्दिक अपील गरेको छ। साथै पार्टीका सबै तहका कार्यकर्तालाई आफ्नो कार्यक्षेत्रमा प्राकृतिक विपद्सँग जुध्न स्वयंसेवी भावना सहित सक्रिय रहन आग्रह गरेको छ।