काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आगामी केही दिनलाई लक्षित गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत राजमार्ग तथा जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो र भू-क्षय हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको विभागले जानकारी दिएको छ।
यस अवधिमा अत्यावश्यक अवस्था बाहेक लामो दूरी र जोखिमपूर्ण यात्रा नगर्न विभागले यात्रु तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ।
विशेषगरी काठमाडौं उपत्यकाबाट बाहिरिने वा बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुले रात्रीकालीन समयमा जोखिमपूर्ण सडक प्रयोग नगर्न सचेत गराइएको छ।
यात्रा गर्नैपर्ने बाध्यता भएमा सडक विभाग, मातहतका कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी आवश्यक जानकारी लिएर मात्र सुरक्षित ढंगले यात्रा गर्न विभागले आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्