काठमाडौँ ।।लगातार भइरहेको वर्षा र संभावित विपद् जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १८ देखि २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका साथै केही स्थानमा भारी वर्षादेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
भारी वर्षाका कारण बढ्न सक्ने बाढी, पहिरो र डुवानबाट जनधनमा जोखिम हुन सक्ने भएकाले असोज १८, १९ र २० गते तीन दिनका लागि कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी साधन तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सम्पूर्ण सवारी आवतजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ।
यातायात व्यवसायीलाई अत्यावश्यकबाहेकका सवारी सञ्चालन नगर्न आग्रह गर्दै प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई यातायात आवागमन रोकथाम तथा अनुगमन गर्न निर्देशन दिएको छ।
यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै प्राधिकरणले उक्त अवधिमा अनावश्यक यात्रा नगरी सुरक्षित तरिकाले घरमै बस्न तथा विपद् सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्