देशभर मध्यमदेखि भारी वर्षा, सरकारी कार्यालयहरूलाई सतर्कता अपनाउन निर्देशन


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर १७ असोजदेखि २० असोजसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेका कारण जिल्ला कार्यालयहरूलाई सतर्क रहन निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त निर्देशनअनुसार आ–आफ्नो मन्त्रालय अन्तर्गत रहेका जिल्ला कार्यालय प्रमुखहरूले १८ असोज भित्र कार्यस्थलमा पुगेर पूर्व तयारी, सतर्कता र प्रतिकार्यको काममा जुट्नुपर्नेछ।

उपसचिव भुवनेश्वर लामिछानेले सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले सो निर्देशनको पालन सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन्।