काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षा र विपद् जोखिमको सम्भावना बढेको भन्दै उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले सामुद्रिक क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको जानकारी दिएपछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म असोज १८ देखि २० गतेसम्म थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुवानको सम्भावना रहेकाले सावधानी अपनाउन अपिल गरिएको हो।
विद्युत संरचनामा क्षति पुग्न नदिन र सेवा अवरुद्ध भएमा तत्काल मर्मत गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
यसका लागि सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल उद्धार तथा मर्मत कार्य सुरु हुने उल्लेख छ।
प्राधिकरणले उपभोक्तालाई प्रतिकूल मौसममा अनावश्यक आवतजावत नगर्न, विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न, आधिकारिक स्रोतबाट मात्र सूचना लिन र विद्युत सेवा अवरुद्ध भएमा तत्काल नजिकैको वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, स्थानीय “नो–लाईट” नम्बरमार्फत पनि जानकारी दिन सकिने व्यवस्था गरिएको छ।




प्रतिक्रिया दिनुहोस्