रौतहटको हथियाहीमा बाढी हेर्न गएका दुई किशोरीको चट्याङ लागेर मृत्यु


आर. के. श्रीवास्तव

रौतहट जिल्लाको कटहरिया नगरपालिका–२, हथियाहीमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, बुधवार साँझ करिब ६स्३० बजे परेको चट्याङका कारण दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय सेहराज लहेरी र १६ वर्षीय नविन यादव रहेका छन्। प्रहरीका अनुसार दुवै जना एउटै स्थानमा रहेका बेला चट्याङ परेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले घटनामा चट्याङ लागेर मृत्यु भएको पुष्टि गरेका छन्।

कटहरिया नगरपालिका–२ का वडा अध्यक्ष हरिन्द्र साहका अनुसार दुवै जना बाढी हेर्न गएका बेला अचानक चट्याङ खसेको थियो। लहेरीको घटनास्थलमै मृत्यु भएको र यादवको उपचारका लागि कटहरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताएका छन्।

वर्षा र चट्याङको समयमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। कटहरिया आसपासका बासिन्दा चट्याङका कारण लामो समयसम्म त्रसित बनेका थिए।

गएको २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी पानी (३०९.८ मिलिमिटर) परेको छ। यो अति भारी वर्षाको अवस्था हो।