कोशी र मधेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायूको प्रभाव जारी


काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो देशका विभिन्न भागमा मौसम बदली रहनेछ। कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहने अपेक्षा गरिएको छ भने बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।

आज दिउँसो कोशी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने अनुमान छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको छ।

राति कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, मधेश र बागमती प्रदेशका साथै पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव सक्रिय रहेको विभागले जनाएको छ।