मेची राजमार्गका तीन पुल बाढीले बगाउँदा आवागमन ठप्प


काठमाडाैँ । अविरल वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गका तीनवटा पुल बगाएको छ । इलामस्थित माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बगाएपछि राजमार्गको यातायात व्यवस्थामा ठुलो असर परेको हो ।

लगातारको वर्षाका कारण रातको समयमा दुर्घटना जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाएको थियो । तर पुल बगाएपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

स्थानीय प्रशासनका अनुसार पुल मर्मत र वैकल्पिक व्यवस्थाको खोजी सुरु भइसकेको भए पनि तत्काल यातायात सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । यात्रु र सवारीसाधन चालकहरूलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ ।