देशभरका मुख्य राजमार्ग पहिरो र बाढीले अवरुद्ध, यातायात पूर्ण रूपमा प्रभावित


काठमाडाैँ । अविरल वर्षासँगै देशका विभिन्न सडकखण्डमा पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ। प्रहरीले दिएको जानकारीअनुसार भक्तपुरको साँगा झोलुङ्गेपुल नजिक खसेको पहिरोले सवारीसाधन चल्न सकेका छैनन्। त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलाको पुल नजिकै खसेको पहिरोका कारण पनि सडक अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ को टाकुचे र टिकाभैरव क्षेत्रमा पहिरो झरेपछि सडक बन्द भएको छ भने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारमा पर्ने डोडारे खोलामा आएको बाढीका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्डमा यातायात रोकिएको छ।

वि.पी. राजमार्गमा समेत ठूलो असर परेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोले सडक अवरुद्ध छ भने मंगलटार खोलामा आएको बाढीले सडक कटान गर्दा आवागमन ठप्प भएको छ। सोही अवरोधले यात्रुहरू गन्तव्यतर्फ जान सकिरहेका छैनन्।

हेटौडा–भैसे–नौबिसे सडकमा समेत अविरल वर्षाले विभिन्न स्थानमा पहिरो ल्याएपछि यातायात पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ। त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिँदा र धुलिखेल–खावा तथा ५४ किलोमा गएको पहिरोले समेत सवारी सञ्चालन रोकिएको छ।

कोशी राजमार्गमा संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूण क्षेत्रमा खसेको पहिरोका कारण सडक बन्द भएको छ। पासाङल्हामु राजमार्गमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा प्रभावित छ। सोही गाउँपालिकाको रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएपछि अझैसम्म सञ्चालनमा आउन सकेको छैन।

प्रहरीले यात्रुहरूलाई जोखिमपूर्ण अवस्थामा यात्रामा ननिस्कन आग्रह गर्दै सुरक्षित यात्राका लागि भरपर्दो सूचना लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ।