काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी सञ्चालनमा राेक, यात्रुहरू बिचल्लीमा


काठमाडाैँ । अविरल वर्षा र देशभरका राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने लामो दूरीका बसहरू आज बिहानसम्म पनि रोकिएका छन् ।

दसैँको भीडसँगै घर फर्किने यात्रुहरू बिचल्लीमा परेका छन्, यद्यपि प्रशासनले सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।काठमाडौँ उपत्यकाको भित्री सडक सामान्य रूपमा सञ्चालनमा भए पनि बाहिरी राजमार्ग अझै जोखिमपूर्ण छन् । यही कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले असोज २० गते बिहानसम्मका लागि लामो दूरीका गाडी नपठाउने निर्णय लिएको हो ।

प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार, ‘‘अत्यावश्यक सवारीबाहेक कुनै पनि गाडीलाई आज बिहानसम्म उपत्यकाबाट बाहिर जान अनुमति दिइएको छैन। बाहिरबाट उपत्यकातर्फ पनि कुनै बस प्रवेश गरेको छैन ।‘’

बस टिकट काटिसकेकाहरूलाई फिर्ता रकम दिइएको छ। सुवेदीका भनाइमा, ‘‘यात्रुहरूलाई असुविधा भए पनि सुरक्षाको दृष्टिले जोखिम लिनु उचित होइन। सडक सुचारु भएपछि मात्र टिकट बुकिङ खुल्नेछ ।‘’

वर्षा, बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू पृथ्वी, नारायणगढ–मुग्लिन, सिद्धार्थ, भोटेकोशी र बिपी राजमार्ग धेरै ठाउँमा अवरुद्ध छन् । त्यसैले सरकारले असोज १८ देखि २० गतेसम्म काठमाडौँ उपत्यका आउजाउमा अस्थायी रोक लगाउने निर्णय गरेको हो ।

टिकट हातमा लिएर टर्मिनल पुगेका यात्रुहरू निराश छन् । कतिपय यात्रुहरू बस पार्कमै रात बिताउँदै छन् भने केहीले टिकट फिर्ता लिएर फेरि मिति पर्खने तयारी गरेका छन् ।

यातायात व्यवसायीहरूका अनुसार यात्रुहरूको चाप अत्यधिक भए पनि सडक जोखिमका कारण सवारी सञ्चालन गर्न नसकिएको हो । उनीहरूले सरकारले सडक खुलाउने प्रयास तीव्र पार्न आग्रह गरेका छन् ।