काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर भइरहेका अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमबारे सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
हिजो जारी गरिएको विज्ञप्तिमा उनले विपद्को यस कठिन घडीमा धैर्य, संयम र एकताको साथ चुनौतीको सामना गर्न सम्पूर्ण नेपाली जनतालाई आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत तथा सहयोगका कार्यमा राज्यका सबै निकायहरू पूर्ण रूपमा खटिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले सरकारी संयन्त्रसँगै स्थानीय सरकार, सुरक्षाकर्मी र नागरिक समाजलाई आपसी समन्वय गरी पीडितहरूको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे ।
यसैबीच विभिन्न राजनीतिक दलहरूले पनि निरन्तर वर्षाबाट उत्पन्न विपद्को अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सक्रिय सहभागिताका लागि आफ्ना कार्यकर्ता तथा सरोकारवालालाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्