काठमाडाैँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भूभागमा प्रवेश गरी मध्य भारततर्फ सर्दै गएको छ ।
उक्त प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरिरहेका कारण असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि तीव्र रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सो अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा ती नदीका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र केही नदीहरू खतरा तह आसपास पुग्ने देखिएको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने स–साना नदीनालामा समेत आकस्मिक बहाव हुन सक्ने जोखिम उच्च रहेको विभागले चेतावनी दिएको छ ।
विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा स–साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकोले असोज २० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
नेपालमा मनसुन अझै नहटेको वर्तमान अवस्थामा विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको जनाएको छ। विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर (११५५) र एसएमएस सेवामार्फत अद्यावधिक सूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेको छ।
महाशाखाले बाढी, डुबान, पहिरो र भूक्षयजस्ता जोखिमका साथै सडक तथा हवाई यातायातमा अवरोध पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सबै सरोकारवाला निकायहरू र सर्वसाधारणलाई पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यमा जुट्न अपिल गरेको छ ।




प्रतिक्रिया दिनुहोस्