काठमाडाैँ । इलाममा भारी वर्षा र पहिरोको प्रभावले स्थानीय बासिन्दा त्रसित भएका छन्। जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा पहिरोले घर भत्काउने घटना भएको छ जसका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरमा रहेका ६ जनाको ज्यान गयो। उद्धार कार्यमा सशस्त्र प्रहरीको श्रीअन्तु गण सक्रिय थियो।
सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गमा राजु क्षेत्रीको घर पनि पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ। उद्धारमा खटिएको टोलीले घर भत्केको ठाउँबाट ४ शव निकाल्य, जबकि घाइते १ जनालाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो।
देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ र तीन जना अझै बेपत्ता छन्। स्थानीयहरूले सकुशल एक जनालाई उद्धार गरेका छन्।
माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ।
फाकफोकथुम गाउँपालिका–३ रातोमाटेमा बस्ने ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोले पुरिँदा ज्यान गुमाएका छन्।
इलाममा जारी बाढीपहिरोले जनधनमा व्यापक क्षति पुर्याएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले उद्धार तथा राहतकार्य तीव्र रूपमा जारी राखेका छन्।




प्रतिक्रिया दिनुहोस्